तपाईं चाँडै गर्भवती हुनु भएन भने चिन्ता नगर्नुहोस्:
थुप्रै दम्पतीहरूले महिला गर्भ रहने दिनहरूमा नियमित यौन सम्पर्क राखेमा एक वर्ष भित्र गर्भवती हुने सम्भावना हुन्छ।
कल-कारखाना वा खेतबारीमा प्रयोग गरिने खतरनाक किटनाशक वा शरीरलाई हानी गर्ने रसायन पदार्थले दूषित भएको हावा, खानेकुरा वा पानीबाट टाढा रहनुहोस्। किटनाशक र अन्य हानिकारक रसायनहरू प्रयोग गर्दै काम गर्दा पुरुषको शुक्रकिटलाई हानी गर्न सक्छ र महिलाले उक्त पुरुषको लुगा धुँदा हानिकारक रसायनहरू तिनको शरीरमा पनि छिर्न सक्छ।
धुम्रपान वा सुर्ती सेवन नगर्नुहोस् वा रक्सी वा कफी नपिउनुहोस्:
चुरोट वा सुर्ती सेवन गर्ने, वा अत्याधिक रक्सी वा कफी पिउने महिला गर्भवती हुन लामो समय लाग्ने वा गर्भ तुहिने हुन सक्छ। धुम्रपान गर्ने वा अत्याधिक मात्रामा रक्सी वा कफी पिउनाले पुरुषको शुक्रकिट थोरै पैदा हुने अनि शुक्रकिट बिग्रिने वा कमजोर हुने हुन सक्छ।
धेरै तातोमा नबस्नुहोस्:
पुरुषको शुक्रकिट चिसोमा रहनुपर्छ। त्यसैले अण्डकोषको थैली भित्र रहेको अण्डकोष पुरुषको शरीरको बाहिर झुन्डिएको हुन्छ। अण्डकोष धेरै तातो भयो भने यसले स्वस्थ शुक्रकिट बनाउन सक्दैन। उदाहरणको लागि, कस्सिएको लुगा लगाएको कारण शरिरमा अण्डकोष थिच्चिएर माथितिर आउँछ वा तातो पानीमा नुहाएकोले वा तातो ठाउँहरू जस्तै, ब्वइलेरको नजिक, तातो भट्टीमा काम गर्दा वा बीचमा कतै नबिसाइ लामो दुरीसम्म ट्रक चलाउँदा यस्तो समस्या हुन सक्छ। अण्डकोष चिसो भएपछि फेरि यसले स्वस्थ शुक्रकिट बनाउन सुरु गर्छ।
कुनै प्रकारको औषधी प्रयोग नगर्नुहोस्:
केही औषधीको प्रयोगले बाँझोपना हुन सक्छ। गर्भधारण गर्न चाहेको समयमा तपाईं र तपाईंको जोडीको लागि सबैभन्दा राम्रो कुरा भनेकै कुनै पनि औषधीको प्रयोग नगर्नु हो। बिरामीको कारण कुनै औषधी लिनुपर्ने छ भने तपाईं गर्भधारण गर्ने प्रयास गर्दै हुनुहुन्छ भनेर स्वस्थ्यकर्मीलाई बताउनुहोस्।
गर्भधारण गर्ने समयमा यौन सम्पर्क राख्ने प्रयास गर्नुहोस्:
पुरुषमा हरेक दिन दशौं लाख शुक्रकिटहरू पैदा भए तापनि स्वस्थ महिलाले महिनामा एउटा मात्र अण्डा पैदा गर्छिन्। यो एउटा यस्तो समय हो जुन समयमा तिनले गर्भधारण गर्न सक्छिन्, यसलाई तिनको गर्भधारण गर्ने समय भन्ने गरिन्छ। धेरै जसो महिलाहरूको गर्भधारण गर्ने समय महिनावारी भएको लगभग १० दिन पछि देखि सुरु भएर लगभग ६ दिन सम्म रहन्छ। गर्भधारण गर्ने समयबारे शरीरमा थुप्रै संकेतहरू दिन्छन्। सजिलै थाहा पाउने एउटा संकेत भनेको योनीको तरल पदार्थमा परिवर्तन आउनु हो।
यौन सम्पर्क राख्दा:
पाठेघरको मुखको नजिकै शुक्रकिट पुग्न दिने सबैभन्दा राम्रो आशनहरू:
पुरुष माथिपट्टि हुनेगरि महिला उत्तानो परेर सुत्ने
कोल्टो परेर बस्ने
यौन सम्पर्क राखिसकेपछि उत्तानो परेर लगभग २० मिनेटसम्म पल्टिरहनुहोस्। यसो गर्दा शुक्रकिट तपाईंको पाठेघरमा तैरिन पाउँछ अनि अण्डालाई भेटाउन सक्छ।
यौन सम्पर्कको दौडान तेल वा क्रिमको प्रयोग नगर्नुहोस्:
यी कुराले शुक्रकिटलाई मार्छ वा शुक्रकिटलाई अण्डासम्म पुग्न दिंदैन।
आफ्नो योनीभित्र रगड्ने वा सफा गर्ने नगर्नुहोस्:
यौन सम्पर्क राख्नुअघि वा राखेपछि रगड्दा योनी भित्र सुखा हुन्छ, जसले गर्दा शुक्रकिट जीवित रहन गाह्रो हुन्छ।
स्वास्थ्य समस्याहरूको उपचार गर्नुहोस्:
तपाईं र तपाईंको जोडी दुवैले आफ्नो स्वास्थ्यको जाँच गराउनुपर्छ अनि यौनजन्य संक्रमण र अन्य रोगको उपचार गराउनुपर्छ। यौनजन्य संक्रमण तपाईंलाई मात्र भए तापनि तपाईंहरू दुवै जनाले उपचार गराउनुपर्छ। आफूलाई दिइएको सबै औषधीहरू पूरै सेवन गर्नुपर्छ।
राम्रो र स्वस्थ खानेकुरा खानुहोस्:
यदि तपाईंको महिनावारी नियमित भएको छैन र धेरै पातलो हुनुहुन्छ भने आफ्नो वजन बढाउनुहोस, वा धेरै मोटो हुनुहुन्छ भने वजन घटाउनुहोस्।
धुम्रपान वा सुर्ती सेवन, लागू पदार्थ वा रक्सी सेवन नगर्नुहोस्।
कफी, कालो चिया र कोक जस्ता पेय पदार्थमा क्याफिन हुने भएकोले यस्ता कुराहरू नपिउनुहोस्।
प्रशस्त आराम अनि व्यायाम गर्नुहोस।
एक वर्षसम्म पनि गर्भवती हुनु भएन भने स्वास्थ्यकर्मीको मा गएर जचाँउनुहोस्:
सामान्य जाँचद्वारा गर्भवती नहुनुको कारण पत्ता लगाउन सकिन्छ र यस्ता जाँच गराउन धेरै पैसा पनि लाग्दैन। उदाहरणको लागि, तपाईंको जोडीको शुक्रकिट स्वस्थ छ कि छैन भनेर उनीहरूले सुक्ष्मदर्शक यन्त्रले हेर्न सक्छन्। तपाईंको योनी, गर्भाशय र ट्युबमा संक्रमण भएको वा मासु पलाएको छ कि भनेर तिनीहरूले तपाईंको पेल्भिकको जाँच गर्न सक्छन्। अथवा हरेक दिन बिहानको तापक्रम जाँचेर तपाईंको अण्डाशयले अण्डा बनाउँछ कि बनाउँदैन भन्ने कुराहरू पनि बताउन सक्छन्। नबिर्सनुहोस्, यी परीक्षणहरूले समस्याबारे मात्र थाहा दिन सक्छ, समस्याहरूलाई समाधान गर्दैन। सबैभन्दा महङ्गो औषधी र शल्यक्रियाले समेत बाँझोपनालाई निको पार्न सक्दैन।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.