स्तनपान गराउँदै छु भने मैले कस्ता खानेकुरा खानुपर्छ

From Audiopedia
Jump to: navigation, search

आमाहरूलाई गर्भावस्थाबाट निको हुन, आफ्नो बच्चाको ख्याल राख्‍न र गर्नुपर्ने अरू सबै काम गर्न तिनले राम्रो खानेकुरा खानुपर्छ। तिनलाई प्रशस्त प्रोटिन, तेल भएका खानेकुरा र धेरै मात्रामा फलफुल र तरकारी आवश्यक पर्छ। तिनले प्रशस्त तरल पदार्थ पनि पिउनुपर्छ, जस्तै: पानी, दूध, हर्बल चिया र फलफुलको जुसहरू। तर आमाले जसरी खाए वा पिए पनि तिनको शरीरले स्तनमा राम्रो दूध उत्पादन गर्छ।

आफ्नो भोक र प्यास मेटाउन प्रशस्त खाने र पिउने गर्नुहोस्। जाँड-रक्सी, सूर्ती, लागू पदार्थ र अनावश्यक औषधी प्रयोग नगर्नुहोस्। कफी र गुलियो सोडा पिउनुभन्दा सफा पानी, फलफुल र तरकारीको जुस, दुध र हर्बल चिया पिउनु बेस हो।

भर्खर आमा बनेकाहरूले केही प्रकारका खानेकुरा खानु हुँदैन भनेर कोही-कोही सोच्छन्। तर आमाले सन्तुलित आहार पाइनन् भने त्यसले तिनमा कुपोषण, रक्तअल्पता र अन्य रोगहरू निम्त्याउन सक्छ।

कहिलेकाहीं स्तनपान गराइरहेका महिलाहरूलाई विशेष प्रकारको खानेकुरा दिइन्छ। यदि खानेकुरा पोषणयुक्त छ भने यो प्रचलन राम्रो हुन्छ। स्वस्थकर खानेकुरा खाएमा बच्चा जन्माइसकेपछि महिलाको शरीर फेरि चाँडै स्वस्थ र बलियो हुन्छ।

महिलालाई थप खानेकुरा आवश्यक पर्छ, यदि:

  • तिनले दुइटा साना बच्चालाई स्तनपान गराउनुपर्छ भने।
  • तिनले एउटा बच्चालाई स्तनपान गराउँदैछिन् र अर्को बच्चा गर्भमा छ भने।
  • दुई वर्ष नबित्दै अर्को बच्चा जन्मेको छ भने।
  • तिनी बिरामी वा कमजोर छिन् भने।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010805