गर्भावस्थाको दौडान म कसरी स्वस्थ रहन सक्छु

From Audiopedia
Revision as of 10:57, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

गर्भावस्थाको दौडान तपाईंले आफ्नो स्वास्थ्यको राम्रो हेरचाह गर्नुभयो भने सुरक्षित गर्भावस्था र प्रसुती हुनुका साथै स्वस्थ शिशुको जन्म हुन सक्छ।

पौष्‍टिक आहार खाने प्रयास गर्नुहोस्। पौष्‍टिक आहारले शक्ति दिन्छ, संक्रमणबाट जोगाउँछ, स्वस्थ शिशुको विकास हुन्छ र शिशुको जन्म हुने बेला धेरै रक्तश्राव हुनबाट जोगाउँछ। नबिर्सनुहोस्, गर्भावस्थामा तपाईंले जे खानुहुन्छ बच्‍चालाई पनि त्यही खुवाउँदै हुनुहुन्छ। आयोडिन युक्त नुन प्रयोग गर्नुहोस्, यसो गर्नुभयो भने शिशुलाई सुस्तमनस्थिति हुनबाट जोगाउँछ।

पर्याप्त मात्रामा सुत्‍नुहोस् अनि आराम गर्नुहोस्। तपाईं उभिएर काम गर्नुहुन्छ भने समय-समयमा बस्‍नुहोस् वा पल्टिनुहोस्। आफ्नो दैनिक कामकुराहरू गर्नुहोस्, तर मौका पाउने बित्तिकै आराम गर्नुहोस्।

शिशु जन्मनुअघि (प्रिनेटल) को समयहरूमा परीक्षण गराउनुहोस्। समस्या गम्भीर हुनुअघि नै कुनै समस्या छ कि छैन भन्‍ने कुरा पत्ता लगाउनुहोस्। टिटानसको सुई कहिल्यै लिनुभएको छैन भने तुरून्तै एउटा लिनुहोस्। गर्भावस्थाको अन्त तिरसम्म कमसेकम दुई वटा सुई लिनुपर्छ।

'गर्भावस्थाको दौडान के-कस्ता खतराहरू आइपर्न सक्छन्' भन्‍ने विषयमा पढ्नुहोस्। यसो गर्नुभयो भने कुन अवस्था आइपर्दा स्वास्थ्यकर्मीलाई भेट्नुपर्छ भन्‍ने कुरा थाह पाउनु हुनेछ। सरसफाईमा ध्यान दिनुहोस्। नियमित रूपमा नुहाउने गर्नुहोस् र हरेक दिन दाँत सफा गर्नुहोस्।

योनी खुम्च्याउँने व्यायाम गर्नुहोस्। यसो गर्नुभयो भने शिशु जन्मेपछि योनी बलियो हुन्छ।

हरेक दिन व्यायाम गर्नुहोस्। तपाईंको काम गर्ने ठाउँमा धेरै बस्‍नुपर्छ भने हरेक दिन अलि-अलि हिंड्ने प्रयास गर्नुहोस्। तर थकान महसुस हुनेगरि नगर्नुहोस्।

यौनजन्य संक्रमण वा अरू संक्रमण लागेको छ भने तुरून्तै उपचार गराउनुहोस्।

एच.आइ.भि को परीक्षण गराउनुहोस्। गर्भावस्थाको बेला एच.आइ.भि संक्रमण हुन नदिन यौन सम्बन्ध राख्‍ने बेला कन्डमको प्रयोग गर्नुहोस्।

आधुनिक वा जडीबुडीका औषधी नलिनुहोस्। स्वास्थ्यकर्मीलाई तपाईं गर्भवती भएको कुरा थाह छ र तिनले गर्भावस्थामा उक्त औषधी लिन मिल्छ भनेका छन भने लिन सकिन्छ।

गर्भावस्थाको बेला जाँड-रक्सी नपिउनुहोस्, धुम्रपान र सुर्ती सेवन नगर्नुहोस्। यी कुराहरू गर्भवती र विकास हुँदै गइरहेको शिशुको लागि धेरै हानिकारक हुन्छ।

तपाईं बस्‍ने इलाकामा मलेरिया अर्थात् औलो लाग्छ भने लामखुट्टेको टोकाइबाट बच्‍न झुल लगाएर सुत्‍ने गर्नुहोस्।

कीटनाशक, झारपात मार्ने वा कारखानाको रसायनीक पदार्थबाट टाढा रहनुहोस्। यसले विकास हुँदै गरेको शिशुलाई हानी गर्छ। यस्ता कुरालाई छुनु हुँदैन वा यसको नजिकै काम गर्नु हुँदैन वा त्यसको धूवाँमा सास लिनु हुँदैन। त्यस्ता कुराहरू राखिने भाँडामा खानेकुरा वा पानी कहिल्यै नराख्‍नुहोस्।

कुनै बच्चाको शरीरमा खटिरा आएको छ भने त्यसको नजिक नजानुहोस्। उक्त बच्चालाई जर्मन मिसल्‍स अर्थात् दादुरा भएको हुन सक्छ र यसले पेटमा रहेको शिशुलाई हानि गर्न सक्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010705