मूत्र प्रणाली र मृगौलामा संक्रमण हुन नदिन के गर्न सकिन्छ

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

यौन सम्पर्कपछि पिसाब फेर्नुहोस्: यौन सम्पर्क राख्‍दा योनी र मलद्वारबाट किटाणुहरू मूत्रद्वार हुँदै पिसाबको ट्युबको तल्लो भागमा जान सक्छ। महिलाहरूमा पिसाबथैलीको संक्रमण हुने मुख्य कारण यही नै हो। यस्तो संक्रमण हुन नदिन यौन सम्पर्कपछि पिसाब फेर्दा राम्रो हुन्छ। यसो गर्दा पिसाब प्रणालीको ट्युब पखालिन्छ (तर यसले गर्भधारण हुनबाट रोक्न सक्दैन)।

पानी धेरै पिउनुहोस्: कुनै महिलाले पर्याप्त पानी पिउँदैनिन् भने किटाणुहरू तिनको शरीरभित्र छिर्छन् र बढ्दै जान्छन्, विशेषगरि तिनी बाहिर गर्मी मौसममा काम गर्छिन् र धेरै पसिना बगाउँछिन् भने यस्तो हुन्छ। तिनको खाली पिसाबथैलीमा किटाणुहरू बढ्न सुरू हुन्छ। दिनमा आठ गिलास वा कप (२ लिटर) तरल पदार्थ पिउने प्रयास गर्नुहोस्। घाममा वा गर्मी कोठामा बसेर काम गर्नु पर्दा अझ धेरै पिउनुपर्छ।

हरेक ३ देखि ४ घण्टामा पिसाब फेर्ने प्रयास गर्नुहोस्: पिसाब फेरेन भने मूत्र प्रणालीमा किटाणुहरू बढ्न थाल्छन्, जसले गर्दा संक्रमण हुन्छ। त्यसैले लामो समयसम्म पिसाब च्यापेर बस्‍ने नगर्नुहोस् (उदाहरणको लागि यात्रा गर्दा वा काम गर्दा)।

आफ्नो यौन अङ्गलाई सफा राख्‍नुहोस्: यौन अङ्गमा भएका किटाणुहरूले, विशेषगरि मलद्वारमा भएका किटाणुहरूले मूत्रद्वारबाट प्रवेश गरेर संक्रमण गराउँछ। हरेक दिन यौन अङ्गहरू पखाल्ने प्रयास गर्नुहोस् र दिशा बसिसकेपछि पुछ्नु पर्‍यो भने अगाडिबाट पछाडितिर पुछ्नुहोस्। पछाडिबाट अगाडितिर पुछ्नुभयो भने किटाणुहरू मलद्वारबाट मूत्रद्वार तिर फैलिन्छन्। त्यसैले साना बच्चाहरूलाई दिशा पुछ्ने सही तरिका सिकाउनुपर्छ। यौन सम्बन्ध राख्‍नुअघि आफ्नो यौन अङ्ग पखाल्ने प्रयास गर्नुहोस्। महिनावारी हुँदा प्रयोग गर्ने कपडा र प्याडलाई फेरि प्रयोग गर्नुपर्ने हो भने सफा राख्‍नुहोस्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011304