यौन सम्बन्ध राख्‍नेबारे हुने विवाद कसरी सुल्झाउने

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

यौन चाहना जीवनको एउटा प्राकृतिक भाग हो र पुरूष जत्तिकै महिलालाई पनि यौन इच्छा पूरा गर्ने चाहना हुन्छ। परम्पराअनुसार श्रीमान्‌को यौन इच्छा पूरा गर्नु श्रीमतीको कर्तव्य हो भनेर सिकाइन्छ र 'असल' स्‍त्रीको आफ्नो यौन चाहना हुँदैन भनेर भनिन्छ। तर यो शिक्षा गलत हुनुका साथै खतरनाक पनि छ। महिला र पुरूष दुवै जोडीले एक-अर्कासित यौन आनन्द बाँडचुँड गरेको राम्रो र प्राकृतिक हो। हरेकले आफ्नो पती वा पत्‍नीलाई कस्तो प्रकारको यौन कुराकानी र स्पर्श मनपर्छ भनेर थाह पाउँदा दुवैजनाले यौनको आनन्द उठाउन सक्छन्।

आफ्नो जोडिसित यौनबारे कुरा गर्नुहोस्। पहिला कहिल्यै यसो गरेको छैन भने गाह्रो हुन सक्छ, तर यो धेरै महत्त्वपूर्ण छ। यदि कुराकानी गर्नुभएन भने तपाईंले यौन सम्बन्धबाट आनन्द उठाइरहनुभएको छ कि छैन भनेर अर्कोलाई थाह हुँदैन। तपाईंलाई के गरेको मनपर्छ वा के गरेको मन पर्दैन भनेर जोडीलाई बताउनुहोस्। यौन स्पर्शले सायद तिनको शरीरले जस्तो प्रतिक्रिया देखाउँछ, त्यस्तै प्रतिक्रिया तपाईंको शरीरले देखाउँदैन भनेर तिनले थाह नपाएको हुन सक्छ। तपाईंको कसरी उत्तेजना बढाउन सकिन्छ भनेर तिनलाई सिकाउनुहोस्।

यौन सम्बन्धको सुरूवात चुम्बन, स्पर्श, कुराकानी गरेर वा उत्तेजित पार्ने किसिमले हेरर हुन्छ। पुरूषहरू भन्दा महिलाहरूलाई उत्तेजना बढ्न समय लाग्छ। त्यसैले यौन सम्बन्ध राख्दा आफ्नो जोडीलाई केही समय पर्खन र धैर्य गर्न भन्‍नुहोस्।

सबै महिला उत्तेजित हुन सम्भव छ, तर धेरै महिलाहरूले त्यो कहिल्यै अनुभव गर्दैनन् वा कहिलेकाहीं मात्र अनुभव गर्छन्। तिनी चाहन्छिन् भने उत्तेजित कसरी हुने भनेर सिक्न सक्छिन्। आफैले छोएर वा आफूलाई मनपर्ने किसिमको स्पर्शबारे जोडीलाई बताएर। आफैलाई छुँदा यौन इच्छा पूरा हुँदैन, तर आफ्नो शरीरको बारेमा थाह पाउने र कस्तो प्रकारको यौन स्पर्श तिनलाई मन पर्छ भनेर तिनले थाह पाउन सक्छिन् र तिनले आफ्नो जोडीलाई देखाउन सक्छिन्।

महिनावारी चक्रअनुसार वा जीवनको कुनै समयमा महिलाको यौन इच्छा परिवर्तन हुन सक्छ। तपाईं वा तपाईंको जोडीलाई यौन सम्बन्ध राख्‍ने इच्छा छैन भने एकअर्कालाई क्षमा दिनुहोस् र यसबारे कुरा गर्नुहोस्। दुवै जनाले यौन सम्बन्ध राख्‍ने इच्छा गर्ने समय पर्खनुहोस् र दुवैलाई रमाइलो लाग्‍ने तरिका अपनाउने प्रयास गर्नुहोस्।

यौन सम्पर्क कहिल्यै पीडादायी हुनुहुँदैन। यौन सम्बन्ध राख्‍दा दुख्नु भनेको केही गडबडी छ भन्‍ने कुराको सङ्‍केत हो। यौन सम्पर्कले महिलालाई दुख्‍ने केही कारण यी हुन सक्छन्:

  • तिनी तनावमुक्त नहुँदै वा नभिजेको अवस्थामा जोडीले चाँडै प्रवेश गराए भने।
  • तिनी दोषी वा लाज महसुस गर्छिन वा तिनी यौन सम्बन्ध राख्‍न चाहँदैनिन् भने।
  • तिनलाई संक्रमण भएको छ भने (यसको जाँच गर्न स्वास्थ्यकर्मीलाई देखाउनुहोस्)।
  • यौन अङ्‍गमा घाउ छ भने।

महत्त्वपूर्ण: तपाईंको श्रीमान्‌ले अर्कै स्‍त्रीसित यौन सम्बन्ध राखेर अवफादार भएको शङ्‍का तपाईं गर्नुहुन्छ भने तिनले कन्डम प्रयोग गर्न नमानेसम्म यौन सम्बन्ध नराख्नुहोस्। यदि तिनले अरूसित यौन सम्बन्ध राख्छन् भने तिनले एच्.आइ.भि/एड्स जस्ता यौनजन्य संक्रमणहरू तपाईंलाई सार्न सक्छन्। हुन त महिला र पुरूष दुवैलाई यौनजन्य संक्रमण हुन्छ, तर महिलाले पुरूषलाई भन्दा पनि पुरूषले महिलालाई सजिलै संक्रमण सार्न सक्छन्। त्यसैले तपाईं खतरामा हुनुहुन्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np021014