किन ‘सुरक्षित तरिकामा यौन सम्बन्ध राख्नुपर्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

अरू सबै संक्रमण जस्तै यौनजन्य संक्रमण पनि किटाणुद्वारा हुन्छ। कुनै-कुनै संक्रमणमा किटाणु हावा, खाना वा पानीद्वारा सर्न सक्छ। तर यौनजन्य संक्रमण भने यौन सम्बन्धद्वारा सर्छ। कुनै-कुनै यौनजन्य रोगमा यौन अङ्गहरूमा घाउ हुने वा पानी बग्‍ने हुन्छ। तर बाहिरबाट हेरेर कुनै व्यक्तिलाई यौनजन्य रोग लागेको छ भनेर चाहिं पत्ता लगाउन सकिंदैन। थुप्रै महिला तथा पुरूषलाई तिनीहरू आफैलाई चालै नपाउनेगरि यौनजन्य रोग लागेको हुन सक्छ। यौनजन्य संक्रमण (जस्तै: मूसा वा हर्पस्) मा किटाणुहरू यौन अङ्गमा बस्छ र यो छाला-छाला बीचको सम्पर्कद्वारा सर्छ।

यौनजन्य रोग गराउने किटाणुहरू (जस्तै: गोनोरिया, क्लेमाइडिया, जन्डिस, भिरिङ्गी र एच.आइ.भि) संक्रमित व्यक्तिको तरल पदार्थमा बस्दछ। संक्रमित व्यक्तिको रगत, वीर्य वा भिजेको यौनी अर्को व्यक्तिको यौनीको छाला, मलद्वार, लिङ्गको टुप्पो वा मुखसित सम्पर्कमा आएपछि यी किटाणुहरू सर्छ। त्यसैले सुरक्षित तरिकामा यौन सम्बन्ध राख्नु भनेको सम्भव भएसम्म जोडीको बीच यौन अङ्गको छाला-छाला बीच र शरीरको तरल पदार्थसित सम्पर्क नहुनेगरि यौन सम्बन्ध राख्‍ने बुझिन्छ। यदि जोडीलाई कुनै पनि यौनजन्य संक्रमण लागेको छैन भनेर पक्का हुनुहुन्छ भने मात्र छाला-छाला बीच वा तरल पदार्थको सम्पर्क हुनेगरि यौन सम्बन्ध राख्‍न सक्नुहुन्छ। सबै प्रकारका संक्रमणले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। एच.आइ.भि, उपचार गरिएन भने घातक हुन सक्छ।

असुरक्षित तरिकामा यौन सम्बन्ध वा धेरै जनासित यौन सम्बन्ध राख्दा महिलाहरूलाई यौनजन्य रोगका साथै एच.आइ.भि लाग्‍ने खतरा धेरै हुन्छ। एच.आइ.भि संक्रमणले एड्स हुन्छ र यसले मृत्यु पनि हुन सक्छ। यौनजन्य संक्रमणको उपचार गरिएन भने बाँझोपन हुने, ट्युबमा गर्भधारण हुने र शिशु तुहिने पनि हुन सक्छ। धेरै जनासित यौन सम्बन्ध राख्दा महिलाहरूमा पेल्भिक सूजन हुने रोग अर्थात् पेल्भिक इन्फ्लेमेटोरि डिजिज (पि.आइ.डि) र क्यान्सर पनि देखा पर्न सक्छ। पुरूष तथा महिलाहरूले सुरक्षित तरिकामा यौन सम्बन्ध राखेमा यस्ता रोग लाग्‍नदेखि जोगिन सक्छन्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010508