यौन सम्बन्ध राख्‍न तयार भएमा आफूलाई कसरी सुरक्षित राख्‍न सक्छु

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

तपाईंले यौन सम्बन्ध राख्‍ने निर्णय गर्नुभयो भने आफूलाई गर्भवती हुन र रोगहरूबाट जोगाउनुपर्छ। सुरक्षित यौन सम्बन्ध राख्‍ने विभिन्‍न तरिकाहरू छन्। यसको मतलब यौन सम्बन्ध राख्नुअघि योजनाहरू बनाउनुपर्छ।

यौन सम्बन्ध राख्‍नु अघि आफ्नो केटा साथीसित कुरा गर्नुहोस्। आफूलाई सुरक्षित राख्‍नु कति महत्त्वपूर्ण छ भनेर उसलाई बुझाउनुहोस्। यसबारे कुराकानी गर्न अप्ठ्यारो लाग्छ भने कुनै अर्कै जोडीको विषयमा कुरा गरे जस्तै गरी कुराकानीलाई अगाडि बढाउन सक्नुहुन्छ। तपाईंको जोडीले तपाईंको ख्याल राख्छन् भने अवश्य तपाईंलाई सुरक्षित राख्‍न चाहन्छन्। तर तपाईंलाई यौन सम्बन्ध राख्‍न जबरजस्ती गर्छन् भने तिनी आफ्नो बारेमा मात्र सोच्‍ने व्यक्ति हुन्।

थुप्रै समाजमा केही मानिसहरूलाई कन्डम र अरू परिवार नियोजनका विधि उपलब्ध गराउन तालिम दिइएको हुन्छ। ती व्यक्तिहरूसित कुरा गर्नुहोस् र परिवार नियोजनका सामग्रीहरू कहाँ पाउन सकिन्छ भनेर सोध्नुहोस्। यदि तपाईंलाई सोध्‍न अप्ठ्यारो लाग्छ भने आफूले भरोसा गर्ने साथीसँग मदत माग्‍नुहोस्। कुनै-कुनै परिवार नियोजनका क्लिनिकहरूमा किशोरकिशोरीहरूका लागि विशेष सेवा उपलब्ध हुन्छ। साथै, त्यस्तै समस्या सामना गरिरहेका र तालिम पाएका किशोरीहरूले जानकारी र सल्लाह दिने सेवा पनि उपलब्ध हुन्छ।

बाहिरबाट हेरर कुनै पनि व्यक्तिलाई यौनजन्य रोग वा एच.आइ.भि लागेको छ भनेर भन्‍न सकिंदैन, त्यसैले हरेक पटक कन्डम प्रयोग गरेर मात्र सुरक्षित यौन सम्बन्ध राख्‍न सकिन्छ। यदि कुनै पुरूषको लिङ्गमा तरल पदार्थ निस्कने वा घाउ छ भने तिनलाई संक्रमण छ र कन्डम नलगाइ यौन सम्बन्ध राखेमा पक्कै पनि त्यो संक्रमण तपाईंलाई सर्नेछ।

तपाईंले यौन सम्बन्ध राख्नु भएको थियो र पछि योनीबाट पानी बग्‍ने, यौन अङ्गमा घाउ वा तल्लो पेटमा दुख्‍ने जस्ता समस्याहरू भएमा तपाईंलाई यौनजन्य रोग लागेको हुन सक्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020813