सुरक्षित तरिकामा यौन सम्बन्ध राख्‍ने विषयमा आफ्नो जोडीसित कसरी कुरा गर्न सक्छु

From Audiopedia
Jump to: navigation, search

तपाईंको जोडीले सुरक्षित तरिकामा यौन सम्बन्ध राख्‍ने तपाईंको इच्छा स्वीकार्छन् जस्तो लाग्छ भने यौनजन्य रोगले स्वास्थ्यमा ल्याउन सक्‍ने समस्याहरूबारे छलफल गर्नुहोस्। यसो गर्न सँधैं सजिलो त हुँदैन। किनकि धेरैजसो महिलाहरूलाई यौनको विषयमा कुरा गर्नु ‘सही’ हुँदैन भनेर सिकाइएको हुन्छ। विषेशगरि आफ्नो जोडी वा अरू पुरूषहरूसित यस्तो कुरा गर्नु हुँदैन भनिएको हुन्छ, जसले गर्दा तिनीहरूलाई त्यसबारे बोल्ने बानी हुँदैन। पुरूषले सायद अरू पुरूषसित यौनबारे कुरा गर्छन्, तर यसबारे आफ्नो जोडीसित भने कुरा गर्न अप्ठ्यारो हुन्छ। यस विषयमा सम्बन्धित केही सुझावहरू यस्ता छन्:

  • सुरक्षामा ध्यान केन्द्रित गर्नुहोस्। सुरक्षित तरिकामा यौन सम्बन्ध राख्‍ने विषयमा कुराकानी गर्दा तपाईंले तपाईंको जोडीलाई भरोसा नगरेको होला भनेर तिनले भन्‍न सक्छन्। तर मुख्य कुरा सुरक्षा हो, भरोसा होइन। किनभने यौनजन्य संक्रमण भएको छ भनेर कुनै व्यक्तिलाई थाह नहुन सक्छ वा यौन सम्बन्ध विना अरू नै कुनै माध्यमबाट एच.आइ.भि लागेको हुन सक्छ। कुनै व्यक्तिलाई यौनजन्य रोग लागेको छैन भनेर पक्का गर्न गाह्रो हुन्छ। जोडीले एकअर्कासित मात्र यौन सम्बन्ध राख्‍ने भए तापनि सुरक्षित तरिकामा यौन सम्बन्ध राख्नु नै राम्रो उपाय हो।
  • साथीसित पहिला कुरा गरेर अभ्यास गर्नुहोस्। साथीलाई आफ्नो जोडीको भूमिका खेल्न भन्‍नुहोस् र तपाईं के बताउन चाहनुहुन्छ अभ्यास गर्नुहोस्। तपाईंको जोडीले के-कस्ता कुराहरू भन्‍न सक्छन् भनेर सोच्‍नुहोस् र तपाईंले कस्तो जवाफ दिनुहुनेछ भनेर अभ्यास गर्नुहोस्। तपाईंको जोडीलाई पनि यसबारे कुरा गर्न अप्ठ्यारो लाग्‍न सक्छ भनेर नबिर्सनुहोस्, त्यसैले तिनलाई कुरा गर्न सजिलो महसुस गराउनुहोस्।
  • यसबारे कुरा गर्न यौन सम्बन्ध राख्‍ने समयसम्म नपर्खनुहोस्। एकअर्कासित राम्रो सम्बन्ध भएको बेला कुरा गर्नुहोस्। बच्चा जन्मेको वा यौनजन्य रोगको उपचार गरेको कारणले गर्दा तपाईंहरूबीच यौन सम्बन्ध भएको छैन भने फेरि यौन सम्बन्ध राख्‍न थाल्नुअघि नै आफ्नो यौन स्वास्थ्यलाई जोगाउन यसबारे कुरा गर्नुहोस्।
  • असुरक्षित यौन सम्बन्ध र सुरक्षित यौन सम्बन्धबारे सक्दो धेरै कुराहरू सिक्नुहोस्। यदि तपाईंको जोडीलाई यौनजन्य रोग र यो सर्ने तरिका र यसले ल्याउने दीर्घकालीन स्वास्थ्य समस्याबारे त्यत्ति ज्ञान छैन भने असुरक्षित यौन सम्बन्धको जोखिमबारे बुझ्‍न तिनलाई गाह्रो हुन सक्छ। यसरी जानकारी लिएको खण्डमा तिनलाई सुरक्षित तरिकामा यौन सम्बन्ध राख्नु आवश्यक छ भनेर विश्वस्त बनाउन सकिन्छ।
  • अरु व्यक्तिहरूको उदाहरण प्रयोग गर्न सक्नुहुन्छ (“मेरो दाईले मलाई भन्‍नुभयो कि उहाँ अहिले सधैं कन्डम प्रयोग गर्नुहुन्छ।”)। अरूले सुरक्षित तरिकामा यौन सम्बन्ध राख्दै छन् भनेर थाह पाउँदा सायद तपाईंको जोडीले पनि यसो गर्ने प्रोत्साहन पाउन सक्छन्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010511