सासु-ससुरासित चाहे जस्तोसुकै विवाद होस्, तपाईंलाई पीडा दिने परिस्थितिलाई परिवर्तन गर्न श्रीमान्को मदत पाउनु धेरै महत्त्वपूर्ण छ। तपाईंको सासु-ससुरा तपाईंको श्रीमान्को बुबाआमा भएकोले र तिनलाई धेरै माया गर्ने भएकोले तपाईंको भन्दा तिनको इच्छा पूरा गरिदिन सक्छन्।
त्यसैले सासु-ससुरासित विवाद भयो भने त्यसलाई सुल्झाउन आफ्नो श्रीमान्को मदत र माया प्राप्त गर्नु राम्रो सुरूवात हुन्छ र निम्न उपाय अपनाउँदा मदतकारी हुन सक्छ:
तपाईंको श्रीमान्बाट मदत माग्नुपर्दा रूने कराउने नगर्नुहोस्, बरू शान्त रहनुहोस्। आफूलाई सताइरहेको कुराबारे बताउनुहोस् र तिनले राम्ररी बुझे कि बुझेनन् भन्ने कुरा पक्का गर्नुहोस्। सुरूमै तिनले समस्यालाई बुझेनन् भने तिनले नबुझेसम्म फेरि बारम्बार दोहोर्याएर भन्नुहोस्। तपाईंलाई तिनको मदतको खाँचो छ भनेर विश्वस्त बनाउनु पनि धेरै महत्त्वपूर्ण छ।
आफ्नो श्रीमान्लाई आक्रमण गर्ने, कुवाक्य बोल्ने वा तिनको चित्त दुखाउने नगर्नुहोस्। यस्तो गर्नुभयो भने तिनले आफूलाई बचाउन थाल्नेछन् (मानिसको सहज क्रिया हो) र तपाईंले बुझाउन खोजेको कुरा सुन्न चाहने छैनन्। तिनीसित राम्रो व्यवहार गर्नुहोस् र नरिसाउनुहोस्। तिनलाई समस्याको भागको रूपमा नभइ समस्याको समाधानको रूपमा हेर्नुहोस्। श्रीमान्को रूपमा तिनी तपाईंको सहयोगी हुन, दुश्मन होइन। त्यसैले तिनलाई दबाब दिने नगर्नुहोस्, बरु तपाईंले तिनको मदत माग्दै हुनुहुन्छ भनेर बुझाउनुहोस्।
प्रायजसो थुप्रै जोडीको समस्या भनेको श्रीमती, श्रीमान्को बुबाआमाको घर छोडेर आफ्नो परिवार बसाल्न चाहन्छिन्। हुन त यो कुरा बुझ्न सजिलो छ, तर पनि पुरूषहरू यसो गर्न हिच्किचाउँछन्। तपाईंको समस्या यस्तै हो भने तपाईंको श्रीमान्को आफ्नो बुबाआमाप्रतिको वफादारीलाई बुझ्ने र त्यसको आदर गर्ने कोसिस गर्नुहोस्, त्यसमाथि प्रश्न उठाउने नगर्नुहोस्। बरू अहिलेको अवस्थामा तपाईंलाई सताइरहेको समस्याबारे बुझाउने प्रयास गर्नुहोस् र बुबाआमाप्रति तिनको वफादारीलाई चुनौती नदिइ सँगै के-कस्ता परिवर्तनहरू गर्दा तपाईं सन्तुष्ट सक्नुहुन्छ भनेर छलफल गर्नुहोस्। यसरी घरबाट निस्कनुभन्दा बस्ने तरिकामा केही छाँटकाँटहरू गरेर विवादलाई सुल्झाउन सक्नुहुन्छ। यदि सम्भव भएन भने तपाईं पनि श्रीमान्को वफादारीको हकदार हुनुहुन्छ भनेर तिनलाई अडिग भएर तर मायालु तरिकामा सम्झाउनुहोस्।
श्रीमान्सित कुराकानी गर्दा तपाईंको चिन्ता र समस्याको कारण अझ धेरै विवाद हुने हो कि भनेर नसोच्नुहोस्। वैवाहिक जोडीमा हुन सक्ने सबैभन्दा नराम्रो अवस्था भनेको एकअर्कासित बोलचाल बन्द गर्नु हो। यस्तो भयो भने अवश्य परिस्थिति झनै बिग्रँदै जान्छ, त्यसैले सम्बन्ध राम्रो बनाइराख्न एकअर्कासित कुराकानी गर्नु धेरै महत्त्वपूर्ण छ। तर आफ्नो भावना आफै भित्र मात्र राख्दा तपाईंको तनाव बढ्न सक्छ।
तपाईंको श्रीमान्ले तपाईंलाई वा तपाईंको समस्यालाई बुझ्दैनन् होला र यसबारे कुरा गर्नु अर्थहीन छ भनेर कहिल्यै नसोच्नुहोस्। सुरूमा तिनले बुझेनन् भने पनि तपाईंले बुझाउन अझ धेरै प्रयास गर्नुपर्छ। थुप्रै अर्थमा पुरूष र महिला फरक-फरक किसिमका हुन्छन्। तिनीहरूको सोचाइ, भावना र व्यवहार गर्ने तरिका फरक-फरक हुन्छ। तिनीहरू फरक जीवन जीउँछन् र धेरै विषयमा तिनीहरूको फरक-फरक धारणा हुन्छ। त्यसैले तपाईंलाई र तपाईंको समस्यालाई बुझ्न श्रीमान्लाई समय लाग्छ भने नआत्तिनुहोस् र धैर्य गर्नुहोस्।
आफ्नो जीवनका सकारात्मक कुरामा ध्यान दिनुहोस् र यसलाई अझै राम्रो बनाउन के गर्न सकिन्छ, त्यसमा ध्यान केन्द्रित गर्नुहोस्। तपाईंले सधैं सकारात्मक परिवर्तन गर्न सक्नुहुन्छ। तपाईं कसैको मदत नपाउने अवस्थामा हुनुहुन्न।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.