सामान्यतया लाग्‍ने यौनजन्य रोगहरू के-के हुन्

From Audiopedia
Jump to: navigation, search

असामान्य किसिमको पदार्थ निस्कनु: यौनीबाट निस्कने पदार्थको मात्रा, रङ्ग वा गन्धमा आउने परिवर्तले गर्दा तपाईंलाई संक्रमण भएको कुरा थाह पाउन सकिन्छ। तर कस्तो किसिमको संक्रमण भएको हो भन्‍ने कुरा चाहिं पत्ता लगाउन यतिले मात्र त गाह्रो हुन्छ।

ट्राइकोमोनेस: यो धेरै असजिलो प्रकारको यौनजन्य रोग हो। यो संक्रमण लाग्दा यौनीबाट बग्‍ने पानी गन्हाउँछ, यौन अङ्ग वरिपरि र यौनी रातो हुनुका साथै चिलाउँछ वा पिसाब फेर्दा पोल्छ। पुरूषमा कुनै लक्षण देखिंदैन तर तिनीहरूको लिङ्गमा संक्रमण भएको हुन सक्छ र तिनीहरूले यौन सम्बन्धमार्फत स्त्रीमा पनि सार्न सक्छन्।

लुतो र जुम्रा: लुतो वा जुम्राले गर्दा यौन अङ्गहरूको रौं वा त्यसको नजिकैको भागमा चिलाउने हुन सक्छ।

गोनोरिया र क्लेमाइडिया: गोनोरिया र क्लेमाइडिया दुवै गम्भीर प्रकारको यौनजन्य रोगहरू हुन्। तर समयमै यसको उपचार गरिएको खण्डमा सजिलै निको पार्न सकिन्छ। यदि यसको उपचार गरिएन भने गम्भीर संक्रमणको कारण पुरूष र स्त्री दुवैमा बाँझोपन हुन सक्छ।

यौन अङ्गहरूमा मुसा आउने: भाइरसले गर्दा छालामा मुसा आउने हुन्छ। यौन अङ्गमा आउने मुसा अरू शरीरोको भागमा आउने मुसा जस्तै देखिन्छ। यौन अङ्गहरूमा मुसा आएको कुरा थाह नहुन पनि सक्छ, विशेषगरि यौनी भित्र वा लिङ्गको टुप्पोभित्र मुसा पलाउँदा।

यौन अङ्गहरूमा घाउ (यौन अङ्गमा अल्सर): यौन अङ्गमा हुने घाउ वा अल्सर यौन सम्बन्धले गर्दा हुने गर्छ। तर कुन रोगले गर्दा घाउ भएको हो भन्‍ने कुरा थाह पाउन गाह्रो हुन्छ, किनभने यो सिफिलिस अर्थात् भिरिङ्गी र क्यानक्रोइड संक्रमण हुँदा आउने घाउ जस्तै देखिन्छ।

सिफिलिस अर्थात् भिरिङ्गी: सिफिलिस गम्भीर प्रकारको यौनजन्य रोग हो। यसले पूरै शरीरमा असर गर्छ र धेरै वर्षसम्म यो रोग लाग्‍न सक्छ। यो रोग जीवाणुको कारण हुन्छ र समयमै यसको उपचार गरिएमा औषधीबाट निको पार्न सकिन्छ। यदि उपचार गरिएन भने सिफिलिसले मुटु रोग, पक्षघात, मानसिक रोग र मृत्यु समेत हुने खतरा हुन्छ।

क्यानक्रोइड: क्यानक्रोइड जीवाणुद्वारा हुने यौनजन्य रोग हो। यसले गर्दा यौन अङ्गमा एउटा वा धेरै नरम, दुख्‍ने घाउ हुन सक्छ वा सजिलै मलद्वारमा रक्तश्राव हुन सक्छ। साथै, जाँघमा भएको ग्रन्थी ठूलो हुने र दुख्‍ने (लिम्फ ग्रन्थी, सुन्‍निएको ग्रन्थी) हुन सक्छ अनि हल्का ज्वरो आउने पनि हुन सक्छ।

यौन अङ्गमा फोका (हर्पस्): यौन अङ्गमा हुने हर्पस् वा फोका भाइरसको कारणले गर्दा हुने यौनजन्य रोग हो। यसले गर्दा यौन अङ्गमा वा मुखमा घाउ हुन्छ र महिनौं वा वर्षौंसम्म पनि घाउ हुने र निको हुने क्रम चलिरहन्छ। यसले गर्दा यौन अङ्गको भागहरू वा जाँघ झमझमाउने, चिलाउने वा दुख्‍ने हुन सक्छ। स-सानो फोकाहरू फुट्ने र त्यसले यौन अङ्गमा घाउ हुने र दुखाउने हुन सक्छ।

एच.आइ.भि संक्रमण: एच.आइ.भि भाइरसले गर्दा लाग्‍ने एड्स धेरैजसो असुरक्षित यौन सम्बन्ध राख्दा सर्ने रोग हो। संक्रमित व्यक्तिको वीर्य, यौनीको तरल पदार्थ वा रगत अर्को व्यक्तिको शरीरमा प्रवेश गरेको छ भने एड्स फैलिन सक्छ। यौन अङ्गमा घाउ छ भने भाइरस सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ। यौनजन्य रोग र एच.आइ.भि लागेको व्यक्तिको वीर्य र तरल पदार्थमा एच.आइ.भि भाइरसको मात्रा धेरै हुन्छ। यौन सम्बन्ध राख्दा पुरूषहरूमा भन्दा स्त्रीहरूमा एच.आइ.भि रोग सजिलै सर्छ। कुनै व्यक्ति हेर्दा स्वस्थ देखिए तापनि उक्त व्यक्तिबाट एच.आइ.भि रोग सर्न सक्छ।

जन्डिस (आँखा पहेंलो हुने): जन्डिस अर्थात् हेपाटाइटिस ‘बि’ भाइरसले गर्दा हुने खतरनाक संक्रमण हो। यो भाइरसले कलेजो बिगार्छ। साथै, जन्डिस लाग्दा खाना खान मन नलाग्‍ने, थकान हुने, कमजोर महसुस हुने, आँखा/छाला पहेंलो हुने, पेट दुख्‍ने, पिसाब रातो हुने र दिशा सेतो रङ्गको हुन्छ।

यौनजन्य रोगको उपचार गर्दा सँधै निम्‍न कुरामा ध्यान दिनुहोस्:

  • तपाईंको जोडीलाई पनि उपचार गराउनुहोस्।
  • सबै औषधी सेवन गर्नुहोस्।
  • यौन सम्बन्ध नराख्‍नुहोस् वा लक्षणहरू देखा परूञ्‍जेल र तपाईं अनि तपाईंको
 जोडीले सबै औषधी सेवन गरी नसकेसम्म कन्डमको प्रयोग गर्नुहोस्।
  • उपचारपछि पनि संक्रमणमा सुधार आएन भने स्वास्थ्यकर्मीलाई भेट्नुहोस्।
  • तपाईंले यौन सम्बन्ध राख्‍न चाहनुहुन्छ भने सुरक्षित तरिकामा यसो गर्नुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010505