शिशुको बुबाले मलाई गर्भावस्थाको दौडान र जन्म दिने बेला कसरी मदत गर्न सक्छन्
गर्भावस्थाको दौडान शिशुको बुबाले आफ्नो बच्चा र तपाईंको ख्याल गर्छन् भनेर याद गर्दा तपाईंले शारिरीक र भावनात्मक रूपमा मदत पाउन सक्नुहुन्छ। तपाईंको काममा सघाउ पुगेको छ भनेर तिनले पक्का गर्नुपर्छ। तपाईंको काममा तिनी आफूले मदत गर्न सक्दैनन् भने अरूको मदत माग्नु पर्ने हुन सक्छ। तपाईंले स्वस्थ खानेकुरा खाँदै हुनुहुन्छ र गर्भावस्थामा गराउनु पर्ने परीक्षण गर्दै हुनुहुन्छ भनेर तिनले पक्का गर्न सक्छन्। शिशुको बुबाले पनि यौनजन्य रोग र एच.आइ.भि को परीक्षण गर्नुपर्छ। तिनलाई एच.आइ.भि लागेको छ भने यौन सम्बन्ध राख्दा कन्डमको प्रयोग गर्नुपर्छ।
व्यथा लाग्दा र शिशुलाई जन्म दिंदा निम्न तरिकामा शिशुको बुबाले मदत दिन सक्छन्:
शिशु जन्माउने बेला तिनी सँगै बस्छन् भने तिनले भावनात्मक र शारिरीक मदत दिन सक्छन्। तिमीले राम्रो गर्दै छ्यौ भनेर हौसला दिन सक्छन्। तपाईंलाई पानी पिलाउने, यताउती डुलाउने वा संकोचनको बेला खुट्टा फाटेर व्यायाम गर्न वा ढाड सुम्सुम्याउन मदत गर्न सक्छन्।
महिलाले फेरि बलियो र स्वस्थ महसुस गर्नको लागि शिशुलाई जन्माएपछिको ६ हप्ता धेरै महत्त्वपूर्ण छ भनेर शिशुको बुबालाई बताउनुहोस्। यस समयको दौडान तपाईंले धेरै स्वस्थ खानेकुरा खानुपर्छ र प्रशस्त आराम लिनुपर्छ। तपाईंको धेरै जसो काम तिनले गरिदिएर तपाईंलाई मदत गर्न सक्छन्। जस्तै: पानी भर्ने र ल्याउने वा काठ जम्मा गर्ने वा बोक्ने, अरू छोराछोरीको ख्याल राख्ने वा खाना पकाउने। तिनले मदत गर्न सक्दैनन् भने मदत गर्न सक्ने व्यक्ति तिनले खोज्न सक्छन्।
तिनले तपाईंको बच्चालाई समातेर वा तिनको हेरविचार गरिदिएमा तपाईंले सुत्ने समय पाउनुका साथै तिनी आफ्नो नयाँ बच्चासित नजिक हुने मौका पाउँछन्।
तपाईंको रक्तश्राव नरोकिए सम्म यौन सम्बन्ध राख्नु हुँदैन भनेर तिनलाई थाह हुनुपर्छ। नत्र पाठेघरमा संक्रमण हुने सम्भावना धेरै हुन्छ।
अन्तमा, आमा र बच्चा स्वस्थ हुनको लागि कमसेकम दुई वर्ष कुरेपछि मात्र फेरि गर्भवती हुनु राम्रो हो। परिवारलाई अझ स्वस्थ बनाउन शिशुको बुबाले मदत गर्न सक्ने महत्त्वपूर्ण तरिका भनेको परिवार नियोजन गरेर हो। यसबारे कुराकानी गर्नुहोस् र सबैभन्दा राम्रो तरिका के हो भनेर सँगै मिलेर निर्णय गर्नुहोस्। परिवार नियोजन गर्नको लागि दुवैले जिम्मेवारी बाँड्नुपर्छ।