कुलत त्यागेका व्यक्तिले फेरि समस्यामा नफस्न आफू कसरी रक्सी र लागू पदार्थबाट अलग रहन सक्छु भन्ने कुरा सिक्नु धेरै महत्त्वपूर्ण छ। सबैभन्दा राम्रो तरिका जीवनमा आउने समस्या फिक्रिसित लड्ने तरिका सिक्नु हो। यसो गर्नु सजिलो छैन र यसमा सफल हुन धेरै समय लाग्न सक्छ।
रक्सी र लागू पदार्थमा फसेका महिला आफूलाई निर्बल र लज्जित महसुस गर्छन्। आफ्नो जीवन सुधार्नको लागि राम्रा परिवर्तनहरू गर्न उनी सक्षम छिन भनेर बुझ्नुपर्छ। एउटा तरिका भनेको स-साना परिवर्तनहरू गर्दै सुरुवात गर्नु हो। यसो गर्दा तिनी समस्यासित लड्न सक्षम छिन् भनेर आफूलाई र अरूलाई प्रमाणित गरेर देखाउन सक्छिन्।
समस्यासित लड्ने क्षमता विकास गर्न मदत दिने केही तरिका:
रक्सी सेवन गर्न छाडेपछि सक्दो चाँडै प्रशस्त प्रोटिन, भिटामिन र खनिज भएको खानेकुरा खानुपर्छ। यी खानेकुराले शरीरलाई आफै निको हुन मदत दिन्छ: कलेजो, खमिर, ननिफनेको गहुँको रोटी वा अरू अन्नको रोटी, गेडागुडी र गाढा हरियो रङ्गको तरकारी। तपाईं खानेकुरा खान सक्नुहुन्न भने भिटामिन खाँदा मदत पाउन सक्नुहुन्छ। फोलिक एसिड भएको मल्टिभिटामिन वा बि-कम्प्लेक्स भिटामिन खानुहोस्।
तपाईंको नजिकको मदत दिने व्यक्तिहरूको समूह बनाउँनुहोस् र आवश्यक परेको बेला मदत माग्नुहोस्। अरूसित बोल्दा र सँगै काम गर्दा समस्याबारे सोच्न र त्यसलाई सुल्झाउन सजिलो हुन्छ।
सबै एकै पटकमा नभई एक-एक गरेर समस्या सुल्झाउने प्रयास गर्नुहोस्। यस्तो कदमले समस्या सामना गर्नै नसक्ने जस्तो ठूलो देखिंदैन।
तपाईंलाई चिन्ता लागेको वा मन खिन्न भएको, दुःखी भएको वा रिस उठेको कुराबारे आफ्नो साथी वा तपाईंले भरोसा गर्ने व्यक्तिलाई बताउनुहोस्। यसो गर्दा तपाईंलाई किन यस्तो महसुस भयो र कसरी राम्रो महसुस गर्न सकिन्छ भनेर बुझ्न सक्नुहुनेछ।
तपाईंको समाजलाई सुधार्न कुनै परियोजनामा अरूहरूसँगै काम गर्नुहोस्। यसो गर्दा परिवर्तनको लागि के गर्नुपर्छ भन्ने ज्ञान आफूमा छ भन्ने कुरा तपाईं आफैलाई र अरूलाई प्रमाणित गर्छ। यसले आफूलाई व्यक्तिगत रुपमा परिवर्तन गर्न मदत गर्छ भन्ने कुरा पनि थाह पाउनुहुनेछ।
रक्सी र लागू पदार्थ त्याग्न मेहनत गर्दै गरेकाहरूसित नियमित रूपमा भेट्नुहोस्।
आफूलाई पिउन वा लागू पदार्थ सेवन गर्न दबाव महसुस हुने ठाउँमा नजानुहोस्। लागू पदार्थ र रक्सीको प्रयोग नगरिने सामाजिक कार्यक्रमहरू गर्न अरूसँगै काम गर्नुहोस्।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.