रक्सी र लागू पदार्थको सेवन गर्नुको कारण जस्तोसुकै किन नहोस्, यी कुराहरू दुरुपयोग गर्न केही बेर लाग्दैन। कुनै व्यक्तिले रक्सी वा लागू पदार्थ कहिले र कति मात्रामा प्रयोग गर्ने भनेर नियन्त्रण गर्न सक्दैन भने तिनले यी कुराहरू दुरुपयोग गर्दै छन् भन्ने बुझिन्छ। साथै, यी कुराहरू प्रयोग गर्दा तिनले कस्तो प्रतिक्रिया देखाउँछन्, त्यो कुराले पनि यसको दुरुपयोग गरिएको छ भन्ने बुझ्न सकिन्छ।
मानिसहरूले लागू पदार्थ वा रक्सीको दुरुपयोग गरिरहेका छन् भन्ने कुराको केही संकेतहरू:
दिन वा रात कटाउन रक्सी पिउनुपर्ने वा लागू पदार्थको आवश्यकता महसुस गर्छन्। तिनीहरूले यसलाई जुन पाए त्यही समय वा ठाउँमा प्रयोग गर्छन्। जस्तै: बिहान वा आफू एक्लै भएको बेला।
आफू वा अरूले कति धेरै मात्रामा प्रयोग गरेका छन् त्यो कुरा ढाँट्छन् वा लुकाउँछन्।
लागू पदार्थ वा रक्सी किन्न धेरै पैसा खर्च गरेकोले पैसाको अभाव हुन्छ। केही मानिसहरूले लागू पदार्थ वा रक्सी किन्ने पैसा जुटाउनको लागि अपराध गर्छन्।
उत्सवहरूको बेला तिनीहरूले धेरै रक्सी वा लागू पदार्थ सेवन गर्ने भएकोले यस्ता उत्सवहरूको वातावरणलाई बिगार्छन्।
लागू पदार्थ वा रक्सी प्रयोग गर्दा आफ्नो व्यवहार देखेर आफै लाजाउँछन्।
काम गर्दैनन् वा लागू पदार्थको सेवन गरेकोले प्रायजसो काममा जाँदैनन्।
हिंसात्मक व्यवहार गर्छन्। आफ्नो श्रीमती, बच्चाहरू वा साथीहरूसँग झनै हिंसात्मक व्यवहार देखाउँछन्।
यदि लागू पदार्थको सेवनले तपाईंको जीवनलाई गाह्रो अवस्थामा पुर्याउँदै छ भने अब यस्तो बानीलाई चटक्कै छाड्ने वा थोरै मात्र प्रयोग गर्ने बेला भयो भनेर बुझ्नुपर्छ। आफू, आफ्नो परिवार वा साथीहरूलाई हानी पुर्याउनुअघि नै यस्तो लत छाड्नु बेस हुन्छ।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.