म एकजना महिला भएकोले एच.आइ.भि र एड्स को संक्रमणबाट अझ किन सुरक्षित हुनुपर्छ
एच.आइ.भि र एड्स् महिलाको लागि अझ बढी जोखिमपुर्ण हुन्छ। किनभने:
पुरूषहरूको तुलनामा महिलालाई सजिलै एच.आइ.भि संक्रमण हुन्छ। किनभने यौनसम्बन्ध राखिंदा महिलाहरू 'प्राप्त गर्ने' पक्ष हुन्। यसको मतलब पुरूषको वीर्य महिलाको योनीमा लामो समयसम्म बस्छ। अनि वीर्यमा एच.आइ.भि छ भने महिलाको योनी वा गर्भाशयमार्फत तिनको रगतमा सर्छ। अझ विशेषगरि तिनको यौन अङ्ग वा गर्भाशयमा काटेको वा घाउ छ वा यौनजन्य रोग छ भने एच.आइ.भि सजिलै सर्छ।
पुरूषभन्दा महिलालाई जवान उमेरमा यो रोगको संक्रमण हुन्छ। किनभने जवान महिला र किशोरीसित नचाहँदा-नचाहँदै राखिने यौन सम्बन्ध वा असुरक्षित यौनसम्बन्ध राखिंदा तिनीहरूले इन्कार गर्न सक्दैनन्। साथै, प्रायजसो जवान केटीहरूलाई धेरै उमेर भएका पुरूषहरूलाई विवाहमा दिइन्छ र यी पुरूषहरू संक्रमित हुने सम्भावना धेरै हुन्छ। महिलाहरू प्राय यौनजन्य रोगको उपचार नगरी बस्छन्। यसले गर्दा तिनीहरू एच.आइ.भि बाट संक्रमित हुने सम्भावना धेरै हुन्छ।
बच्चा जन्माउने बेला महिलाहरूलाई समस्या हुने भएकोले तिनीहरूलाई प्राय रक्तक्षेपण गरिन्छ।
पोषणयुक्त खानेकुरा नभएकोले र कमजोरीले गर्दा महिलाहरूमा रोगहरूसित लड्ने क्षमता कम हुन्छ।
हुनत पुरूषहरूले कन्डम लगाउन चाहँदैनन् वा धेरै जनासित यौन सम्बन्ध राख्छन्, तैपनि एड्स फैलाउने माध्यम महिला हो भनेर अन्यायपूर्ण आरोप लगाइन्छ।
गर्भवती महिलामा एच.भाइ.भि देखिएको छ भने त्यो संक्रमण बच्चामा पनि सर्न सक्छ।
महिलाहरू आफै बिरामी भए तापनि प्रायजसो तिनीहरूले नै परिवारमा एड्स लागेका सदस्यहरूको हेरचाह गर्छन्।