कसैले आत्महत्या गर्छु भनेर भन्छ भने त्यस्तो कुरालाई गम्भीरतापूर्वक लिनुहोस्। कुनै व्यक्तिले आत्महत्या गर्ने आफ्नो सोचाईबारे बताए भने तिनले आत्महत्या गर्ने प्रयास गर्नेछन् भनेर देखाउने सङ्केत हो। मानसिक स्वास्थ्य सम्बन्धी दक्षता हासिल गरेका व्यक्तिहरूको मदत लिनुहोस्।
यदि कसैले आत्महत्या गर्ने प्रयास गरेको कुरालाई गोप्य राख्नुहोस् भनेर तपाईंलाई आग्रह गर्छन् भने कहिल्यै स्वीकार नगर्नुहोस्। चाहे परिस्थिति जस्तोसुकै किन नहोस् कसैको जीवन र मृत्यु मुछिएको कुरालाई गोप्य राख्नुहुँदैन। तपाईंले त्यस्तो कुरा गोप्य राख्नुभयो भने तिनको मृत्युको जिम्मेवार तपाईं हुनुहुनेछ अनि दोषी भावनाले तपाईंलाई जीवनभरि सताउन सक्छ। गोप्य राख्नुको साटो तिनलाई आत्महत्याबाट जोगाउन केही आवश्यक कदम चाल्नुहोस्।
तिनको कुरा सुनेर छक्क लागेजस्तो नगर्नुहोस्। किनभने त्यस्तो कुरा बताउने व्यक्ति तनावग्रस्त अवश्थामा हुन्छ र तिनले भनेको कुरा सुनेर तपाईं छक्क परेजस्तो देखियो भने तिनलाई अझ धेरै तनाव हुन सक्छ। त्यसैले त्यस्तो कुराहरू सुन्दा शान्त रहनुहोस्।
उक्त व्यक्तिले भन्न खोजेका कुरा ध्यान दिएर सुन्नुहोस्। तिनलाई जति चाहिन्छ त्यति बोल्न दिनुहोस्। तिनलाई सक्दो मदत गर्नको लागि ध्यान दिएर सुन्नुहोस् र के कारणले गर्दा तिनी आत्महत्या गर्न चाहन्छन् भनेर बुझ्ने कोसिस गर्नुहोस्।
प्रोत्साहनदायी शब्दहरू बोलेर तिनलाई सान्त्वना दिनुहोस्। कस्ता शब्दहरू चलाएर मदत गर्न सकिन्छ भनेर सहज ज्ञान प्रयोग गर्नुहोस्। सक्दो कोमलतापूर्वक व्यवहार गर्ने र ख्याल राख्ने व्यक्ति बन्नुहोस्।
तपाईंले ती व्यक्तिबारे गहिरो चिन्ता गर्नुहुन्छ भनेर तिनलाई थाह दिनुहोस्। तिनलाई तपाईंको चिन्ताबारे बताउनुहोस् र देखाउनुहोस्।
कसैको न्याय गर्न थाल्ने नगर्नुहोस्। त्यस व्यक्तिले भनेको र महसुस गरेको कुरालाई वाहियात नसम्झनुहोस्। तिनलाई मदत दिन र तिनको ख्याल राख्न सक्दो कोसिस गर्नुहोस् र तिनको न्याय नगर्नुहोस्, बरू तुरुन्तै मदत खोज्नुहोस्। तिनको परिवारको सदस्यहरू वा साथीहरूसित मदत माग्नुहोस्, तर तिनीहरू नै आत्महत्या गर्न चाहनुको कारण हुन भने तिनीहरूको मदत नखोज्नुहोस्। यस्तो अवश्थामा आकस्मिक स्वास्थ्यकर्मीलाई वा थेरापिस्टलाई भेट्न सक्नुहुन्छ।
कुनै व्यक्तिमा आत्महत्या गर्ने खतरा धेरै छ भने तिनलाई एक सेकेन्ड पनि एक्लै नछोड्नुहोस्।
उक्त व्यक्तिले मदत पाएर आत्महत्या गर्ने खतरा कम भएपछि स्वास्थ्यकर्मी वा थेरापिस्टसित भेट्ने समय मिलाउनुहोस्। आत्महत्या गर्ने सोचाइसित लड्न दक्ष स्वास्थ्यकर्मीको मदत चाहिन्छ। यस्ता व्यक्तिहरूको उपचार तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा मात्र गरिनुू पर्छ।