महिनावारी रोकिने बेलामा राम्रो महसुस गर्नको लागि म के गर्न सक्छु
महिनावारी रोकिनु जीवनको एउटा सामान्य भाग हो। महिनावारी रोकिने समयमा महिलाहरूले असजिलो महसुस गर्ने भए तापनि तिनीहरूले आफ्नो बानी र खानेकुरामा परिवर्तन गर्दा राम्रो महसुस गर्न सक्छन्।
विगतमा डाक्टरहरूले महिनावारीको बेला देखिने यस्ता लक्षणहरूलाई हटाउन एस्ट्रोजेन र प्रोजेस्टेरोन भएको औषधी खानुपर्छ भन्ने सल्लाह दिने गर्थे। यसलाई "हर्मोन रिप्लेस्मेन्ट थेरापी" भनिन्छ। दु:खको कुरा यस्तो थेरापीले महिलाहरूमा स्तन क्यान्सर, मुटुको रोग, शरीरमा रगत जम्ने र मस्तिष्कघात हुने खतराहरू बढेको पाइयो। त्यसैले महिलाहरूले यस्ताऔषधीहरू प्रयोग नगर्नु नै बेस हुन्छ।
तपाईं पनि त्यस्ता संकेतहरूले गर्दा अप्ठ्यारो महसुस गरिरहनु भएको छ भने, यसो गर्ने प्रयास गर्नुहोस्:
पसिना आउन थालेपछि सजिलै फुकाल्न मिल्ने लुगा लगाउनुहोस्।
पिरो वा मसालेदार खाने वा पिउने नगर्नुहोस्। यी कुराहरूले तपाईंलाई धेरै गर्मी महसुस गराउँछ।
कफी र चिया धेरै नखानुहोस्। यी कुराहरूमा कफिन भन्ने तत्त्व हुन्छ। यसले तपाईंलाई आत्तिने बनाउँछ र राती निन्द्रा नलाग्ने हुन्छ।
नियमित व्यायाम गर्नुहोस्।
रक्सी पिउनु परेमा थोरै मात्र पिउनुहोस्। रक्सीले धेरै रक्तस्राव हुनुका साथै निकै गर्मी महसुस गराउँन सक्छ।
धुम्रपान वा सुर्ती सेवन गर्न छाड्नुहोस्। यी कुराहरूले असामान्य तरिकामा रक्तस्राव हुने र कमजोर भएको हड्डीलाई झनै नराम्रो अवश्थामा पुर्याउँछ।
तपाईंको भावनाहरू सजिलै छिन-छिनमा परिवर्तन भै राख्छ भनेर परिवारमा बताउनुहोस्। यस्तै अनुभव गरिसकेका अरु महिलाहरूसित आफूलाई भएको महसुसबारे छलफल गर्नु पनि मदतकारी हुन्छ।
समाज वा टोलमा प्रयोग गरिने परम्परागत जडिबुटीको बारेमा सोध्नुहोस्। यस्तो अवश्था पार गरिसकेका महिलाहरूलाई तपाईंले के गर्दा राम्रो महसुस गर्न सकिन्छ भन्ने तरिका थाहा हुन सक्छ।