धेरै देशहरूमा थुप्रै वयस्कहरूले (६५ उमेर माथिका) आत्महत्या गरेको सङ्ख्यामा द्रुत गतिले वृद्धि भएको पाइएको छ।
सम्भाव्य कारणहरू:
थुप्रै देशहरूमा परम्पराको मूल्यमान्यतामा छिटो परिवर्तन आएको छ (आधुनिक रूपमा परिवर्तन)। वृद्ध व्यक्तिहरूको आदर र कदर गर्नुको सट्टा केही समाजले तिनीहरूलाई काम नलाग्ने चिजको रूपमा हेर्छन्। तिनीहरूको स्याहार-सुहार गर्नु गाह्रो काम बनेको छ। यस्तो अनादर भएको देख्दा थुप्रै वृद्ध-वृद्धाहरू परिवार र समाजको लागि बोझ बन्न चाहँदैनन् र आफ्नो ज्यान लिन्छन्।
आफ्नो प्रियजनहरूले नचाहँदा-नचाहँदै छोडेर अर्को ठाउँमा सर्नु पर्ने हुन्छ । थुप्रै देशहरूमा छोराछोरी र नातिनातिनीहरू नचाहँदा-नचाहँदै अर्को ठाउँमा सर्नुपर्ने भएको छ। आफू बसेको ठाउँमा खाना वा काम नपाइने वा ठूलो शहरहरूमा कलकारखानाहरूले धेरै पैसा दिने हुँदा यसरी सर्नुपर्ने अवस्था आउँछ। कोही-कोही व्यक्तिहरू काम गर्ने ठाउँ नजिकै बस्नको लागि थुप्रै किलोमिटर टाढा बस्न जानुपर्ने हुन्छ। 'बसाईं-सराई' -को बेला आमाबुबा र बाजे बज्यै चाहिं आफ्नो घरमा बस्नुपर्ने हुन्छ, यसरी बस्दा तिनीहरूको ख्याल राख्ने कोही साथमा हुँदैनन्। तिनीहरू एक्लो, केही गर्न नसक्ने र निराश महसुस गर्छन् र आफू मर्नु नै बेस हुन्छ भनेर सोच्छन्।
महिलाहरूले वृद्धावस्थालाई "गुमाउने ऋृतु" ठान्छन्। तिनीहरूले आफ्ना थुप्रै साथी र प्रियजनहरूको मृत्युको शोक सहनुपरेको हुन्छ। हालै विधवा भएकी महिलाले आफ्नो श्रीमान्को मृत्युको पीडा सहनुका साथै आर्थिक कठिनाइ भोग्नुपर्ने हुन्छ। आफ्ना साथी र परिवारबाट पर्याप्त मदत नपाउँदा तिनीहरू यस्ता समस्यासित लड्न असक्षम हुन्छन्।
अवकाश पाएपछिआत्मसम्मानमा कमी आउँछ। यो अवस्था विशेषगरि विकसित देशहरूमा धेरै हुन्छ, किनभने यस्ता देशका थुप्रै महिलाहरूले आफ्नो लागि आफैले कमाउने गर्छन्। उमेर बढ्दै गएपछि जागिर खाने समय पनि सकिन्छ र अवकाश प्राप्त हुन्छ, जसले गर्दा तिनीहरूको आत्मसम्मान कमी आउने र स्वन्त्र नभएको महसुस गर्छन्। साथै, आफूलाई काम नलाग्ने ठान्नुका साथै जीउनुको कुनै अर्थ नै छैन जस्तो महसुस गर्छन्। कामको सिलसिलामा भएका सामाजिक सम्पर्कहरू गुमाउनुपर्दा एक्लो र त्यागिएको महसुस हुन्छ।
स्वास्थ्य समस्या। बिग्रदो स्वास्थ्य समस्याको साथै दीर्घकालीन रोग र दुखाईले गर्दा तिनीहरूलाई चलहल गर्न गाह्रो हुन्छ। वृद्ध महिलाहरूले आफ्नो इच्छाअनुसार गर्न नसक्दा र आत्मसम्मान गुम्दा आफूमा बाँच्ने इच्छा नै नभएको महसुस गर्छन्।